१८ साउन, एजेन्सी । यमनको दक्षिणी अब्यान प्रान्तको तट नजिक अफ्रिकी आप्रवासी बोकेको एक अवैध डुंगा डुब्दा २० जना भन्दा बढीको मृत्यु भएको छ ।
सोही दुर्घटनामा परी दर्जनौं अझै बेपत्ता भएको त्यहाँको संचार माध्यमहरुले जनाएका हुन् । शनिबार राति करिब ११ बजे ९स्थानीय समयअनुसार० तीव्र हावाहुरीका कारण करिब १ सय ५० आप्रवासी बोकेको डुंगा पल्टिएको स्थानीय एक अधिकारीले सिन्ह्वालाई जानकारी दिएका थिए ।
शुक्रा र जिन्जिबार सहरका तटहरूमा उद्धार टोलीले आइतबार बिहानसम्म २० भन्दा बढी शवहरू फेला पारेका छन्। ज्यान बचाउन सफल १२ जनालाई उद्दार गरी उपचारका लागि शक्रा जनरल अस्पतालमा लगिएको छ। अझै कैयौं आप्रवासीको अवस्था अज्ञात रहेको अधिकारीहरूले बताएका छन् ।
अब्यान सुरक्षा निर्देशनालयले जारी गरेको विज्ञप्तिमा समुद्री दुर्घटनामा मृत्यु भएका अधिकांश आप्रवासीहरू इथियोपियाली मूलका रहेको उल्लेख गरिएको हो। उनीहरू अफ्रिकाको हर्न क्षेत्रबाट यमन हुँदै अन्य देशतर्फ जान अवैध रूपमा यात्रा गरिरहेको जनाइएको छ ।




