२१ साउन, एजेन्सी । इटाली सरकारले सिसिली टापुलाई मुख्य भूमिमा जोड्ने विश्वको सबै भन्दा लामो झोलुङ्गे पुल निर्माण गर्न १३ अर्ब ५० करोड यूरो (१५अर्ब ६० करोड डलर) परियोजनाका लागि बुधबार अन्तिम स्वीकृति दिने भएको छ ।
उपप्रधानमन्त्री एवं पूर्वाधारमन्त्री माटेओ साल्भिनीले दशकौंको योजनापछि ‘इतिहासको पृष्ठ’ चिह्न लगाउँदै मेसिनाको जलडमरूमध्यमा राज्यद्वारा वित्त पोषित पुललाई मन्त्रिपरिषदले समर्थन गर्ने बताएका हुन् । पुललाई बीचमा दुई रेल लाइन र दुवैतिर तीन लेनको ट्राफिकसहित डिजाइन गरिएको छ । यसको झुण्डिएको भाग विश्व कीर्तिमानी ३ दशमलव ३ किलोमिटर (२ दशमलव ०५ माइल) छ । दुई वटा ४ सय मिटर (एक हजार तीन सय फिट) अग्लो टावरबीच फैलिएको छ ।
सन् २०३२ सम्ममा सम्पन्न हुने तालिका रहेको यो पुल इन्जिनियरिङको अत्याधुनिक तहमा रहेको सरकारले बताएको छ । यो पुलले दुई टेक्टोनिक प्लेटकोबीचमा पर्ने क्षेत्रमा तीव्र हावा र भूकम्पको सामना गर्न सक्छ । मन्त्रीहरूले यसले दुई गरिब इटालियन क्षेत्र सिसिली र मुख्य भूमिको क्यालाब्रियामा आर्थिक वृद्धि र रोजगारी ल्याउने आशा गरेका छन् ।




