अन्तर्राष्ट्रिय

सुरक्षा क्याबिनेटको बैठकमा निर्धक्क भएर सेनाको अडान व्यक्त गर्ने इजरायली सेनाप्रमुख जमिरको तयारी

२२ साउन, एजेन्सी । इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमिरले सुरक्षा क्याबिनेटको बैठकमा सेनाको अडान निर्धक्क भएर राख्ने बताएका छन् ।

प्रमुख जमिरले गाजाका लागि युद्धका योजनाको बारेमा छलफल हुने सुरक्षा क्याबिनेटको बैठकअघि ’निर्धक्क भएर’ सेनाको धारणा व्यक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । बैठकको पूर्वसन्ध्यामा इजरायली सञ्चार माध्यममा प्यालेस्टाइनको तहसनहस भएको क्षेत्रमा अगाडि बढ्ने बाटोको बारेमा क्याबिनेट र जमिरबीच असहमति रहेको हल्ला चलेको थियो।

जमिरले निर्धक्क भएर, व्यावहारिक, स्वतन्त्र र व्यावसायिक तरिकाले आफ्नो स्थिति व्यक्त गर्ने काम जारी राख्ने दावी गरेका छन् । इजरायली सञ्चार माध्यमका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको पूर्ण कब्जाका लागि अनुमति माग्ने अनुमान गरिएको छ ।

यसअघि बुधबार जमिरले गाजाको विषयमा कुनै पनि सरकारी निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमा लेखेका थिए । जमीरले भनेका छन्,-‘हामी सिद्धान्तका लागि काम गरिरहेका छैनौं । हामी जीवन र मृत्युको मामिलामा काम गरिरहेका छौं । राज्यको रक्षाका लागि काम गरिरहेका छौं । हामी हाम्रा सैनिक र नागरिकहरूको आँखामा प्रत्यक्ष रूपमा हेर्दै निर्णयहरू लिन्छौं । हामी केवल राज्यको भलाई र यसको सुरक्षाको लागि जिम्मेवारी, निष्ठा र दृढताका साथ काम गरिरहनेछौं।’

उपयुक्त फोरमहरूमा आफ्नो स्थिति व्यक्त गर्नु ‘सेना प्रमुख’ को अधिकार र कर्तव्य भएको उनको भनाइ छ । प्रमुख जमिरले काट्जले एक्समा सेनाले सरकारले बनाएको नीतिहरूको सम्मान गर्ने समेत बताएका थिए ।