२३ साउन, एजेन्सी । चीनको उत्तरपश्चिम गान्सु प्रान्तमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ ।
सोही बाढीमा परी ३३ जना बेपत्ता भएका हुन् । गान्सु क्षेत्रमा बिहीबारदेखि लगातार भारी वर्षा भइरहेको जनाइएको छ। बाढीका कारण शुक्रबार दिउँसो साढे ३ बजेसम्ममा वर्षापछि आएको बाढी र डुबानका कारण १० जनाको मृत्यु हुनुका साथै ३३ जना वेपत्ता भएको सरकारी प्रसारक सीसीटीभीले अधिकारीलाई उद्धृत गरेको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ताको उद्धारका लागि ‘सक्दो प्रयास’ गर्न आदेश दिएको सीसीटीभीले जनाएको हो । चरम मौसमको कारण बारम्बार दोहोरिने’ घटनाप्रति चासो व्यक्त गर्दै राष्ट्रपति जिनपिङले सबै क्षेत्रहरूमा दृढतापूर्वक सावधानी अपनाउन र जोखिम पहिचान गर्ने प्रयासलाई बलियो बनाउन आदेश दिएका छन् ।
वेइबोमा चिनियाँ अग्नि नियन्त्रक अधिकारीहरूले साझा गरेको फुटेजमा उद्धारकर्ताहरूले एउटा गाउँमा धमिलो पानीको बहावमा मानिसहरूलाई डोर्याइरहेको देखाइएको छ। गान्सुको सरकारले पोस्ट गरेको फोटोहरूमा सडकहरू बाढीले थुपारेको हिलो माटो र ठूला ठूला ढुङ्गाहरूले ढाकिएको देखिन्छ।
चीनमा विशेष गरी वर्षा याममा हुने प्राकृतिक प्रकोपहरूका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । उत्तरी बेइजिङमा गत महिना भएको भारी वर्षाका कारण ४४ जनाको मृत्यु भएको थियो ।




