अन्तर्राष्ट्रिय

चीनद्वारा समुद्रबाट ‘स्मार्ट ड्र्यागन–३’ रकेट प्रक्षेपण

२४ साउन, एजेन्सी । चीनले शनिबार बिहान आफ्नो स्मार्ट ड्र्यागन–३ (एसडी–३) नामक रकेट मार्फत गेली–०४ उपग्रह समूह (कन्ष्टलेसन) सफलतापूर्वक पृथ्वीको कक्षमा पठाएको छ ।

सोही प्रक्षेपण पूर्वी चीनको सान्दोङ्ग प्रान्तको रीजाओ शहर नजिकै समुद्रबाट गरिएको हो । ‘गेली–०४’ एक उपग्रह समूहमा साना साना उपग्रहहरू समावेश छन् । जुन पृथ्वीको कक्षमा रहेका हुन्छन् ।

यी उपग्रहहरूले सञ्चार, नेभिगेशन, मौसम पूर्वानुमान र वैज्ञानिक अनुसन्धान जस्ता क्षेत्रमा काम गर्ने उद्देश्य राख्दछन् । यस्तो उपग्रह समूहले पृथ्वी अवलोकन, डाटा सङ्कलनमा सुधार ल्याएर विभिन्न सेवा, प्रविधिमा सटीकता र विश्वसनीयता बढाउँछ ।

चिनियाँ समय अनुसार शनिबार बिहान साढे १२ बजे, रकेट समुद्री प्रक्षेपणस्थलबाट आकाशतर्फ उडाइएको थियो। यस समुद्री प्रक्षेपण अभियानलाई ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रले सञ्चालन गरेको थियो । समुद्रबाट गरिएको यो सफल प्रक्षेपण चीनको बढ्दो प्रविधिक क्षमताको संकेत हो ।

जसले वैज्ञानिक अनुसन्धान, संचार र सटिक स्थान निर्धारण प्रणालीमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ ।