२४ साउन, एजेन्सी । संयुक्त राष्ट्रसंघले गाजा पट्टी क्षेत्रमा जारी युद्ध, घरबारविहीनता र अत्यधिक गर्मीकाबीच सर्वसाधारणलाई दैनिक आवश्यक वस्तुहरूको खोजी नै असम्भव जस्तै बन्दै गएको जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले शुक्रबार गाजावासीहरू अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेको दावी गरेको हो । खानेकुरा, पानी र औषधी लगायतका अत्यावश्यक सामग्रीको चरम अभाव छ । राहत सामग्री भने अत्यन्त न्यून मात्रामा गाजा प्रवेश गरिरहेको छ। ओसीएचएले गाजामा प्रवेश गर्ने राहत कार्यमा एकदमै ढिलाइ हुने गरेको जनाएको हो ।
गाजाको दक्षिणी भागमा रहेको समुद्री पानीलाई पिउनयोग्य बनाउने केन्द्रको विद्युत् आपूर्ति लाइन यस साताभित्रै तेस्रो पटक क्षतिग्रस्त भएको छ । यस कारण केन्द्रले आफ्नो कुल क्षमताको १४ प्रतिशत भन्दा कम मात्र सञ्चालन गर्न सकिरहेको छ । यद्यपि केही व्यावसायिक गाडीहरू गाजामा प्रवेश गरेपछि केही खाद्यान्न सामग्रीको मूल्यमा सामान्य गिरावट आएको देखिएको छ । तर अधिकांश खाद्यवस्तुहरू अझै महँगो भएको र सहजै उपलब्ध छैनन् ।
ओसीएचएले हवाईमार्फत खसालिने राहत सामग्रीहरूका कारण विभिन्न स्थानमा नागरिकको ज्यान जाने र घाइते हुने घटनाहरू पनि भइरहेको जनाएको हो । आपूर्तिको सबै भन्दा सुरक्षित र प्रभावकारी माध्यम स्थल मार्ग नै भएको छ । यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफनी ट्रेम्ब्लेले जारी गरेको विज्ञप्तिमा गाजा सहरमा नियन्त्रण लिने इजरायली निर्णयप्रति गम्भीर चिन्तित भएको जनाइएको छ ।
उक्त निर्णयले अवस्था झनै भयावह बनाउने, नागरिकको ज्यान जोखिममा पार्ने र लाखौँ गाजावासीमाथि थप विनाश ल्याउने चेतावनी उनले दिएका हुन् । ओसीएचएले राहत सामग्री सबै नाकाबाट तथा सबै सम्भव मार्ग हुँदै निर्बाधरूपमा प्रवेश गर्न दिनुपर्नेमा जोड दिएको छ ।
ओसीएचएले मात्रै त्यसरी सहायता व्यापक रूपमा पहुँचाउन सकिने स्पष्ट समेत पारेको हो ।




