अन्तर्राष्ट्रिय

‘युक्रेनबिना गरिने कुनै पनि निर्णयले शान्ति सम्भव छैन’: राष्ट्रपति जेलेन्स्की

२४ साउन, एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनको सहभागिताविना गरिने कुनै पनि निर्णय प्रभावकारी नहुने दावी गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा शान्ति स्थापना सम्बन्धी शिखर वार्ता आगामी हप्ता अमेरिकाको अलास्कामा हुने भएको हो । सोही सन्दर्भमा राष्ट्रपति जेलेन्स्कीले यस्तो दावी गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले शनिबार सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै युक्रेनका नागरिकहरूले आफ्नो भूमिमा कुनै पनि किसिमको अतिक्रमण स्वीकार नगर्ने बताएका छन् । हाम्रो सहभागिताविना गरिने निर्णयहरू शान्तिप्रति सहयोगी नहुने समेत उनले जानकारी गराएका छन् ।

उनले युक्रेन वास्तविक र परिणाममुखी शान्ति प्रक्रिया अपनाउन तयार रहेको स्पष्ट पारेका छन् । तर, यस्तो शान्ति सम्मानजनक र देशको सार्वभौमिकतालाई सम्मान गर्ने किसिमको हुनुपर्ने कुरामा उनको जोड थियो । सन् २०२२ को फेब्रुअरीदेखि जारी द्वन्द्वका कारण हजारौं मानिसहरूले ज्यान गुमाइसकेका छन् । करोडौं विस्थापित हुन बाध्य भएका हुन् । यस वर्ष रुस र युक्रेनबीच तीन चरणसम्म वार्ता भए पनि ठोस सहमति कायम हुन सकेको छैन ।

राष्ट्रपति पुटिनले हालसम्म युक्रेनी समकक्षीसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्दै आएका छन् । जबकी राष्ट्रपति जेलेन्स्कीले शान्तिका लागि उच्चस्तरीय प्रत्यक्ष संवाद अपरिहार्य रहेको धारणा राख्दै आएका थिए । राष्ट्रपति ट्रम्पले शुक्रबार शिखर वार्ता घोषणा गर्दै केही भूभाग आदान–प्रदान हुने सम्भावना संकेत गरेको भए पनि त्यसको विस्तृत विवरण भने दिएका छैनन् ।

सोही शिखर वार्ता यहि साउन ३० गते अलास्कामा हुने तय भएको छ । जसलाई अमेरिकी ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीचको महत्वपूर्ण संवादका रूपमा हेरिएको छ ।