२६ साउन, एजेन्सी । रुसले युक्रेनमा गरेकाे नयाँ गोलाबारी र ड्रोन आक्रमण गर्दा ५ जनाको मृत्यु भएकाे छ ।
युक्रेनले रुसको साराटोभ क्षेत्रमा रहेको एक ठूलाे तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दावी गरेको हाे । युद्ध जारी भइरहेकै बीच संयुक्त राज्य अमेरिका र रुसले शिखर वार्ता गर्ने सहमति गरेता पनि युक्रेन भने त्यसमा समावेश गरिएको छैन ।
युक्रेनी राष्ट्रिय प्रहरीले जापोरिझ्झिया क्षेत्रमा ३ जनाको मृत्यु र एक जना घाइते भएका छन् । त्यसैगरी, पूर्वी डोनेत्स्क क्षेत्रमा थप २ जना सर्वसाधारणको मृत्यु भएकाे हाे । यसैबीच, कालो सागरस्थित ओडेसा शहरमा प्रतिबन्धित क्षेत्रमा पौडी खेल्ने क्रममा शुरुङ विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । उक्त क्षेत्रमा रुसको सम्भावित समुद्री आक्रमण रोक्न बारुदी शुरुङहरू बिछ्याइएको थियो ।
युक्रेनी सेनाले करिब १ हजार किलोमिटर टाढा पर्ने रुसको साराटोभ क्षेत्रमा ड्रोनमार्फत आक्रमण गरी तेल प्रशोधन केन्द्रमा क्षति पुर्याएको दावी गरेको छ । साराटोभका गभर्नर रोमन बुसार्गिनले ‘एक औद्योगिक संरचना क्षतिग्रस्त भएको’ र एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन् ।
रुसको बेलगोरोद क्षेत्रमा पनि युक्रेनी आक्रमणका कारण एक जना महिलाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यो क्षेत्र सधैं युक्रेनी आक्रमणको जोखिममा रहने सीमावर्ती क्षेत्र हो । युक्रेनले रुसको तेल तथा ग्याँस पूर्वाधारलाई निशाना बनाई युद्धको आर्थिक स्रोत कम्जोर बनाउने रणनीति अघि बढाइरहेको छ ।




