५ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गरेकी छन् । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले उक्त कार्यालयको उद्घाटन गरेकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीले अघि सार्नुभएको जनताको बहुदलीय जनवाद (जबज) का विषयमा टोलटोलमा जानकारी गराउन जन्मजयन्ती मनाउने निर्णय भएअनुसार कार्यालय स्थापना गरिएको बताईन् । सो अवसरमा उनले आफूले राष्ट्रपति भएर नेपालको गौरव बढ्ने गरी काम गरेको बताईन् । देशको राष्ट्रपतिले गर्नुपर्ने भूमिका मर्यादित ढङ्गले राम्रोसँग राष्ट्रको गौरव बढ्ने गरी काम गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू राष्ट्रपति भएको बेला गरेका काम इतिहासको पानामा खुला रहेको बताईन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) कै कार्यकर्ता भएर काम गर्ने इच्छा हो ठुलो पद चाहिएको होइन भन्ने भावना व्यक्त गरिन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मदन भण्डारीका विचार र योगदानको भूमिकालाई मुलुकभरि पु¥याउन कार्यालय स्थापना गरिएको बताए । उनले मदन भण्डारीका विचार र योगदानलाई चिरस्थायी बनाउन फाउण्डेशन गठन भएको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन मदनका विचार अग्रणी रहेको बताए । उनले मदनका विचारलाई जनजन र पार्टीपंक्तिमा पु¥याउन आवश्यक रहेको बताए । मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) प्रतिकूलता, अप्ठ्यारो र चुनौतीसँग जुधेर अगाडि बढेको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ थियो ।
“जबजको विचार शान्त तलाउमा डुङ्गा चलाए जस्तो सलल अघि बढेको होइन । यो विचार प्रतिकूलतासँग जुधेर अप्ठ्यारा र चुनौतीसँग जुधेर अघि बढेको हो”, उनले भने, “यो आँधी तुफानसँग जुध्दै, प्रतिकूलतालाई पराजित गर्दै स्थापित भएको विचार हो । जसमा मदनले अगुवाइ गर्नुभयो ।”
फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले मदन भण्डारीको ७५औँ जन्मजयन्तीलाई व्यवस्थित तरिकाले मनाउन कार्यालय स्थापना गरिएको बताईन् । उनका अनुसार जन्मजयन्ती २०८२ र २०८३ साल भरि विचार गोष्ठी, छलफल तथा अन्तरक्रिया, कविता, बादविवाद प्रतियोगिता, हाजिरीजवाफ, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, पुस्तक प्रदर्शनीलगायतका क्रियाकलाप गरी देशभरि नै मनाइने छ ।
कार्यक्रममा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलगायतको सहभागिता रहेको थियो । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।





