१४ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थतन्त्र बलियो बनाएर चिकित्सकका माग पुरा गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘प्रजातन्त्रवादी चिकित्सक संघको वार्षिक भेलामा बोल्दै देशको अर्थतन्त्र बलियो बनाएर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई यथेष्ट तलब भत्ता ब्यबस्था गर्न सक्यौं भने मात्रै चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको पलायन रोक्न सकिन्छ।’
प्रजातन्त्रवादी चिकित्सक सङ्घको वार्षिक भेलाको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘स्वास्थ्य सेवा, पार्टी नेतृत्व र राष्ट्रिय प्रगतिका लागि एकीकृत कदम’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले चिकित्सकको सेवा सुविधाका लागि सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।
“सेवा सुविधा थप गर्ने भन्ने वित्तिकै अर्थतन्त्रसँग जोडिन्छ, देशको अर्थतन्त्र वृद्धि गर्ने थुप्रै क्षेत्र रहेको छ, त्यतातिर लागौँ, उहाँहरुको सेवा सुविधा बढाउन तिर लागौँ,” पूर्वमन्त्रीसमेत रहेका उनको भनाइ थियो ।
घरेलु मदिरालगायतलाई कर दायरामा ल्याउन सके अहिले बजेटमा छ खर्ब थप गर्न सकिने भन्दै आफू कानुनमन्त्री हुँदा पटकपटक कानुन बनाउन प्रयास गरेपनि सफल हुन नसकेको बताए । “म कानुनमन्त्री हुँदा घरेलु मदिरालगायत थुप्रै क्षेत्रलाई करका दायरामा ल्याएर देशको अर्थतन्त्र बलियो बनाउन पटकपटक लागेँ तर सफल हुन सकिन,” उनको भनाइ थियो ।




