१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार दिउँसो १ बजे बस्ने तय भए पनि अन्तिम समयमा स्थगित भएको छ। पार्टीभित्र १५औं महाधिवेशनको मिति सम्बन्धमा विवाद उत्पन्न भएको छ।
शनिबार सानेपामा पदाधिकारी बैठक बसे पनि सहमति जुटाउन सकिएको थिएन। यसबीच, महामन्त्री र संस्थापन पक्षले भिन्न/भिन्न कार्यतालिका पेश गरेका थिए।
महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशन अघि वा पछि महासमिति सदस्यबाट भोटिङ गरिनुपर्छ भन्ने प्रस्तावसमेत राखेका थिए। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तावमा सहमति जुटाउन दुई महामन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्ने तयारी गरिरहेका छन्।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक १८ कात्तिक दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।





