१७ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित आठ वामपन्थी दलरसमूहबीच पार्टी एकता भएको छ। आइतबार साँझ पेरिसडाँडामा बसेको बैठकपछि एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको हो, भने यसको औपचारिक घोषणा २० कात्तिकमा हुने बताइएको छ।
सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव, नेकपाका महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन्।
नयाँ दलको नाम अझै तय नभए पनि, उनीहरूले ‘पाँचकुने तारा’लाई चुनाव चिह्नका रूपमा रोजेका छन्। यो चिह्न अघिल्ला चरणमा नेकपा माले, जनमोर्चा र पछिल्लो समय सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टीले प्रयोग गर्दै आएको थियो।
एकतासँगै प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले मार्गनिर्देशक सिद्धान्तका रूपमा प्रयोग हुँदै आएको ‘माओवाद’ त्याग्ने र दलको नाम पनि परिवर्तन गर्ने तयारी गरेको छ। अब माओवादी केन्द्रले लामो समयदेखि प्रयोग गर्दै आएको गोलाकारभित्रको हँसिया–हथौडा चिह्न इतिहास बन्ने भएको छ।
तर इतिहासले देखाउँछ ‘तारा’ चुनाव चिह्न लिने वाम दलहरूका लागि यो प्रतीक खासै शुभ सावित भएको छैन। २०५४ सालमा एमाले फुटाएर बामदेव गौतमले गठन गरेको नेकपा मालेले यही चिह्न लिएको थियो। ०५६ सालको चुनावमा देशभर ५ लाख ६७ हजार मत पाउँदा पनि दलका कुनै उम्मेदवार विजयी हुन सकेनन्। पछि गौतम पुनः एमालेमा फर्किए।
पछिल्लो पटक २०७९ को चुनावमा सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालले यही चिह्नमा भाग लिँदा देशभर जम्मा करिब ६ हजार मत मात्रै पाएको थियो। अब यही ‘तारा’लाई नयाँ वाम एकताको प्रतीक बनाउन प्रचण्ड, माधव नेपाल र उनीहरूका सहयात्रीहरू तयारीमा छन्।





