१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको हालैको अभिव्यक्तिप्रति नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असन्तुष्टि जनाएका छन् ।
पार्टी घोषणा सभामा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री कार्कीले आफू, केपी शर्मा ओली र शेरबहादुर देउवाजस्ता शीर्ष नेतासँग भेट्न नचाहेको भनाइ दिएकोप्रति आपत्ति जनाए ।
उनले भने, “हामीले संविधान जोगाउन, सुशीलाजीलाई प्रधानमन्त्री बनाउन योगदान दिएका थियौं, तर अहिले त्यो भूमिकालाई बेवास्ता गरिएको छ।”
प्रचण्डले प्रधानमन्त्रीको भनाइ असंवेदनशील भएको उल्लेख गर्दै थपे, “प्रधानमन्त्रीले फलाना नेताको अनुहार हेर्नै मन छैन भन्ने कुरा सुन्दा अलि चस्स पर्छ, आशा गर्छु त्यस्तो भन्नुभएको होइन।”
१४ कात्तिकमा सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले ओली, देउवा र प्रचण्ड जस्ता नेताहरू लामो समयदेखि सत्तामा रहेकाले अब नयाँ पुस्ताले उनीहरूको विकल्प खोजिरहेको बताएकी थिइन् ।
प्रधानमन्त्रीको यही टिप्पणीप्रति प्रचण्डले सार्वजनिक रूपमा असन्तुष्टि प्रकट गरेका हुन् ।





