२४ मंसिर, काठमाडौं । सहकारी विभागले देशभरका सहकारी संस्थाहरूलाई एक व्यक्तिले एउटै समयमा एकभन्दा बढी पद सम्हाल्न रोक्दै कडा निर्देशन जारी गरेको छ। सहकारी ऐन २०७४ ले तोकेको ‘एक व्यक्ति–एक पद’ को व्यवस्थालाई उल्लंघन गर्ने घटनाहरू बढेपछि विभागले यसलाई तुरुन्त कार्यान्वयन गर्न आदेश दिएको हो।
दफा ४१(५) र दफा ४४(१)(ग) ले स्पष्ट रूपमा कुनै व्यक्ति एकै समयमा एकभन्दा बढी सहकारीको सञ्चालक हुन नपाइने व्यवस्था गरेको छ। तर, विभिन्न सहकारी, संघ र सहकारी बैंकमा दोहोरो/तेहरो पद सम्हालिरहने व्यक्तिहरू भेटिएको विभागको भनाइ छ।
यसअघि अनलाइनखबरमासहितका सञ्चारमाध्यमले सहकारी बैंक र संघहरूमा दोहोरो पदको समस्या उठाएपछि विभाग सक्रिय बनेको हो। विभागले नेपाल राष्ट्र बैंक, सहकारी नियमन प्राधिकरण र अन्य नियामक निकायले जारी गरेका मापदण्ड पनि अनिवार्य पालना गर्न निर्देशन दिएको छ।
सहकारी क्षेत्रमा सुशासन, पारदर्शिता र स्वार्थको द्वन्द्व रोकथामका लागि कानुनको कडाइका साथ कार्यान्वयन आवश्यक रहेको विभागले बताएको छ। अनुगमनका क्रममा उल्लंघन फेला परेमा सहकारी ऐनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।





