२९ मंसिर, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । एघारौं महाधिवेशन अन्तर्गत केन्द्रीय निर्वाचन आयोगले बन्दसत्र सुरु भएसँगै संशोधित कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार आज दिउँसो १ देखि साढे ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । यसअघि साढे १० देखि साढे १ बजेसम्म तय गरिएको समय परिवर्तन गरिएको हो । संशोधित कार्यतालिका अनुसार दिउँसो ४ बजे प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।
आजै ५ बजे उजुरीमाथि छानबिन तथा निर्णय हुने र ५ देखि ६ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली साँझ साढे ६ बजे सार्वजनिक गरिनेछ । मतदान भोलि बिहान ११ देखि साँझ ५ बजेसम्म हुने तालिका तय गरिएको छ ।






