१ पुस, काठमाडौं । मंगलबार सेयर बजार सकारात्मक देखिएको छ । नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९ अंकमा पुगेको छ । कारोबार बन्द हुँदाको यो बिन्दु नै दिनभरकै उच्चतम स्तर हो । बजार खुलेदेखि बन्द हुँदासम्म नेप्से एकपटक पनि घट्दो अवस्थामा देखिएन ।
आज कुल १८७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रह्यो । अघिल्लो दिन ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ३ अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भयो ।
व्यापार समूहबाहेक सबै समूहका सूचक बढेका छन् । व्यापार समूह ०.०१ प्रतिशतले घट्दा बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.८६, निर्जीवन बीमा ०.८९ तथा अन्य समूह १.१५ प्रतिशतले बढेका छन् ।
आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्त, एसवाई प्यानल र नारायणी डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले बढ्यो । यस्तै बाराही हाइड्रोपावरको सेयर ७.०४ प्रतिशत र लुम्बिनी विकास बैंकको ५.८१ प्रतिशतले वृद्धि भयो ।
घट्ने कम्पनीतर्फ स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ४.१६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ङादी ग्रुप, लुम्बिनी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र राधि विद्युत् शीर्ष पाँचमा रहे ।





