समाचार

इन्कलाबको पत्रसहित रहबर अन्सारीले छाडे माओवादी

२४ पुस, काठमाडौं । माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य निर्वाचित रहबर अन्सारीले बिहीबार पार्टी परित्याग गरेका छन्।

इन्कलाबका नाराले भरिएको पत्रमार्फत अन्सारीले पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै माओवादी छाड्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले प्रचण्डलाई ‘माओवादी केन्द्रका पूर्व अध्यक्ष’ भनेर सम्बोधन गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।

मधेस प्रदेश सांसद रहेका अन्सारीले प्रचण्डले माधव नेपाललगायतसँग सहकार्य गर्दै पार्टीको नाम परिवर्तन गरेको केही महिनापछि यस्तो निर्णय लिएका हुन्। पार्टीको वैचारिक धार र नेतृत्वको भूमिकाप्रति असन्तुष्ट भएर आफू अलग भएको उनको संकेत छ।

अन्सारीले लेखेको पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तनको सपना बोकेकाहरू, सत्ता र सुविधामा केन्द्रित भएको आरोप लागेका अवसरवादीहरू तथा वास्तविक शहीदहरूलाई दिएका छन्। उनले माओवादी आन्दोलनको मूल भावना कमजोर बन्दै गएको आरोपसमेत लगाएका छन्।