२५ पुस, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि आवश्यक परेमा राजनीतिक दललाई देशभरका मतदाताको नामावली निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ ।
आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका अनुसार देशभरको मतदाता नामावली लिन रु १० हजार शुल्क तिर्नुपर्नेछ । यस्तो विवरण आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दललाई दलको औपचारिक पत्रका आधारमा उपलब्ध गराइनेछ ।
आयोगले मतदाताको नाम, थर, ठेगाना लगायतको विवरण विद्युतीय रूपमा उपलब्ध गराउने भए पनि जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बर भने उपलब्ध नगराइने स्पष्ट गरेको छ । यस्तो विवरण हार्डड्राइभ वा पेनड्राइभमार्फत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रअनुसार फरक शुल्क
एउटा प्रदेशको मात्र मतदाता नामावली आवश्यक परेमा रु ५ हजार शुल्क तोकिएको छ । यस्तै, जिल्लाभरको मतदाता नामावलीका लागि रु ३ हजार र कुनै एक निर्वाचन क्षेत्रको मतदाता नामावलीका लागि पनि रु ३ हजार शुल्क निर्धारण गरिएको छ ।
आयोगमा दर्ता भएका राजनीतिक दललाई दलको पत्रको आधारमा र स्वतन्त्र उम्मेदवारलाई निजको निवेदनका आधारमा निर्वाचन कार्यालयले तोकिएको दस्तुर लिई मतदाता नामावली उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
मतदाता स्वयंले पनि नामावली लिन सक्ने
कुनै मतदाताले आफ्नो विवरण मात्र समावेश भएको मतदाता नामावली लिन चाहेमा निर्वाचन कार्यालयले रु १० हजार शुल्क लिई त्यस्तो प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ ।
निर्वाचन अधिकृतले मतदाता, दलका प्रतिनिधि वा उम्मेदवारलाई मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउने गरी अनुमति दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।
फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न पाउने र फोटोबाहेकको मतदाता नामावली भने जोसुकैले हेर्न सक्ने व्यवस्था रहेको जानकारी मतदाता, राजनीतिक दल र उम्मेदवारलाई दिनुपर्ने आयोगले जनाएको छ ।





