२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच बालुवाटारमा वार्ता जारी छ। विशेष महाधिवेशन अगाडि बढाइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको टोलीले संस्थापन पक्षसँग संवाद गरिरहेको हो।
वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन्। संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा निकट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल वार्तामा सहभागी छन्।
विशेष महाधिवेशन पक्षले सभापति देउवासहित संस्थापन नेतृत्वलाई वार्तामा बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा उपस्थित भएका छैनन्। सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देशसमेत निकटस्थमार्फत् दिइरहेको बताइएको छ।
कांग्रेसका ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनको माग गरेका छन्। संस्थापन पक्षले बेवास्ता गरेमा जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने चेतावनी विशेष पक्षले दिएको छ।
बालुवाटारमा भइरहेको वार्तापछि विशेष महाधिवेशनलाई कसरी अघि बढाउने भन्ने विषयमा टुंगो लाग्ने नेताहरूले बताएका छन्।





