समाचार

कांग्रेस विशेष महाधिवेशनद्वारा निर्वाचन समिति पुनर्गठन, नेतृत्वमा सीताराम केसी

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनबाट नयाँ निर्वाचन समिति गठन गरिएको छ। भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनले डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) का अध्यक्ष सीताराम केसीको संयोजकत्वमा नयाँ निर्वाचन समिति बनाएको हो।

यसअघि गठन गरिएको निर्वाचन समिति भंग गर्दै केसीको नेतृत्वमा नयाँ समिति गठन गरिएको विशेष महाधिवेशन पक्षले जनाएको छ। पार्टीले यसअघि खम्बबहादुर खाँतीको संयोजकत्वमा निर्वाचन समिति बनाएको थियो।

नयाँ निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बंजाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्यका रूपमा रहेका छन्।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्द सत्र जारी रहँदा अब बाँकी प्रक्रिया सुरु गरिने नेताहरूले बताएका छन्। नवगठित निर्वाचन समितिले निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ। यसैबीच, संस्थापन पक्षसँगको वार्ता पनि निरन्तर चलिरहेको छ।