समाचार

प्रदीप पौडेल भन्छन्: ‘विशेष महाधिवेशनले कांग्रेसलाई परिवर्तनकारी र एकताबद्ध बनाउँछ’

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जारी विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नयाँ नेतृत्वमार्फत पार्टीलाई अझ सशक्त र एकताबद्ध बनाउने विश्वास व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै पौडेलले बाध्यात्मक परिस्थितिबाट सुरु भएको विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई रूपान्तरणको दिशामा अघि बढाउने बताएका छन्। उनले आफूहरू एकताबद्ध, परिवर्तित र सबल कांग्रेसको पक्षमा रहेको उल्लेख गरेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना भएपछि संस्थापन पक्षले यसलाई अवैधानिक भन्दै आएको छ। तर विशेष महाधिवेशन पक्षधरहरूले भने पार्टी विधानअनुसार नै महाधिवेशन भइरहेको दाबी गर्दै आएका छन्।

दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि सहमतिको मध्यमार्ग खोज्न बालुवाटारमा वार्ता जारी छ। वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेलसहित गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन् भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन्।