समाचार

दैनिक १५ लाख मतपत्र छापिँदै, शुक्रबारसम्म सबै छापिसक्ने

माघ २९, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीव्र गतिमा मतपत्र छपाइ गरिरहेको जनाएको छ। केन्द्रले हाल दैनिक १५ लाखका दरले मतपत्र छापिरहेको छ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ कुल दुई करोड तीन लाख मतपत्र छाप्नुपर्नेमा बुधबारसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न भइसकेको छ। अझै करिब ५० लाख मतपत्र छाप्न बाँकी रहेको र शुक्रबार साँझसम्म सबै मतपत्र छपाइ सक्ने लक्ष्यसहित काम भइरहेको उनले जानकारी दिए। ढिलोमा शनिबारसम्म सम्पूर्ण छपाइ कार्य सम्पन्न हुने उनको भनाइ छ।

पहिले दैनिक १३ लाख मतपत्र छापिँदै आएकामा अहिले छपाइ क्षमता बढाएर दैनिक १५ लाख पुर्‍याइएको केन्द्रले जनाएको छ। केही जिल्लामा उम्मेदवारको संख्या धेरै भएकाले ठूलो आकारको र थोरै उम्मेदवार भएको जिल्लामा सानो आकारको मतपत्र छाप्नुपर्ने हुँदा प्रारम्भिक चरणमा केही ढिलाइ भएको बताइएको छ।

केन्द्रले १० लाख नमूना मतपत्र निर्वाचन आयोगलाई उपलब्ध गराइसकेको छ। साथै, समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न गरिसकेको केन्द्रले जनाएको छ। त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिएको हो।

आज (बिहीबार)देखि छपाइ सम्पन्न भएका मतपत्र जिल्ला पठाउन थालिएको छ। विशेषगरी दुर्गम जिल्लामा प्राथमिकताका साथ मतपत्र पठाइने र फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पुर्‍याइसक्ने लक्ष्य राखिएको प्रबन्ध सञ्चालक पौडेलले बताएका छन्।