समाचार

बंगलादेशमा शेख हसिना सत्ताच्यूतपछि पहिलो निर्वाचन, १२ करोड मतदाता मतदानमा

२९ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि बंगलादेशमा पहिलो पटक आम निर्वाचन भइरहेको छ । नयाँ सरकार गठनका लागि सुरु भएको मतदान आज अपराह्न साढे ४ बजेसम्म चल्ने छ ।

बीबीसीका अनुसार यस निर्वाचनमा १२ करोडभन्दा बढी बंगलादेशी मतदाता सहभागी भइरहेका छन् । सन् २०२४ मा भएको व्यापक विद्यार्थी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री हसिना सत्ताबाट हटेकी थिइन् । आन्दोलनका क्रममा करिब १४ सय प्रदर्शनकारीको ज्यान गएको थियो ।

हसिना देश छोडेर बाहिरिएपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो । गत नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरुद्धको अपराध अभियोगमा पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

यस निर्वाचनमा हसिनाको पार्टी अवामी लिगलाई भाग लिन प्रतिबन्ध लगाइएको छ । चुनावी प्रतिस्पर्धा मुख्यतः बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र इस्लामी दल जमात–ए–इस्लामीबीच केन्द्रित छ । जमात–ए–इस्लामीले विद्यार्थी आन्दोलनबाट उदाएको एक नयाँ राजनीतिक दलसँग गठबन्धन गरेको छ ।