समाचार

डोल्पामा बोलेर जिप दुर्घटना : एकको मृत्यु, तीन घाइते

२९ माघ, डोल्पा । डोल्पामा बिहीबार बिहान बोलेर जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दुर्घटना त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँबाट त्रिपुराकोट तर्फ आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेर जिपमा भएको हो।

प्रहरीका अनुसार, दुर्घटनामा जिउ गाउँका ४५ वर्षीय धनचन्द्र धरालाको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै, जिउ गाउँका ३८ वर्षीय सुकलाल गुरूङ, त्रिपुरासुन्दरी–३ सुँ गाउँकी ४५ वर्षीय रमा बोहोरा र चालक घाइते भएका छन्। घाइतेहरू थप उपचारका लागि जिल्ला अस्पताल दुनै पठाइएको छ।

दुर्घटनामा संलग्न चालक, सल्यानको कुमाख गाउँपालिका निवासी २५ वर्षीय एलिस बुढाथोकीलाई प्रहरी चौकी त्रिपुराकोटले नियन्त्रणमा लिएको छ। प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।