पर्वत । दृष्टि गुमेको पाँच वर्षपछि पुनः संसार देख्न पाउँदा मनमा कति हर्ष होला ! त्यही हर्षको अनुभव सङ्गालेकी छिन् फलेवास नगरपालिका–५ खानीगाउँस्थित खोलाखेतकी ८० वर्षीया नरकुमारी कुँवर ।पर्वतका विभिन्न लायन्स क्लबले जिल्ला अस्पताल पर्वतमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएकी नरकुमारीले आजबाट पुनः आँखा देख्नसक्ने भएकी हुन् ।
शल्यक्रिया गरेको दोश्रो दिन आँखाको पट्टी खोल्दा कुवँरको गुमेको ज्योति फर्किएको लायन्स क्लब अफ शिवालय कुस्माका अध्यक्ष डिल्लीराम शर्माले बताए । “आँखाको मोतियाबिन्दु भएको पाँच वर्ष भएको रहेछ,’ उनले भने, “आँखा शिविरमा बिहीबार शल्यक्रिया गरिएको थियो, दोश्रो दिन खोल्दा आँखा देख्न सक्नु भएको छ । यो सफलताले हामीलाई खुशी मिलेको छ ।”
मोतियाबिन्दु भएका कारण करिब ७५ वर्षको उमेरदेखि नै कुँवरले आँखा देख्न छाडेकी थिइन् । मोतियाबिन्दुका कारण उहाँको दाहिने आँखाले देख्न नसक्ने अवस्थामा थियो । “देब्रे आँखाले अलि अलि भेउ पाएर यताउति गर्थे । साह्रै गाह्रो भएको थियो”, कुँवरले भने ।
फलेबास नगरपालिकाकै चन्द्रबहादुर परियारको पनि डेढ वर्षदेखि आँखामा जालोले ढाकेको थियो । यही कारण उनलाई हिँडडुलका लागि निकै समस्या भएको थियो । उनले पनि मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गराएपछि अब भने दुवै आँखाले देख्नसक्ने भएका छन् ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण रोग पालेर बसेका ४५ वृद्धवृद्धाले सो शिविरबाट सेवा पाएका छन् । शिविरमा आँखा परीक्षण र मोतियाविन्दुको शल्यक्रिया निःशुल्क रूपमा गरिएको छ भने औषधि र चस्माका लागि सम्बन्धित बिरामीलाई न्यूनतम खर्च मात्र तिराइएको छ ।
प्रायः गरी घरको आर्थिक अवस्था न्यून भएका कारण रोग पालेर बसेकाहरू नै शिविरमा उपचारका लागि आएको बताइएको छ । अध्यक्ष शर्माका अनुसार लायन्स क्लब अफ शिवालय कुस्मा, लायन्स क्लब अफ पर्वत मोदी काली र लायन्स क्लब अफ पर्वत कुस्मा सिटीले हिमालय आँखा अस्पताल पोखराको सहकार्यमा जिल्लाका चार ठाउँमा पुगेर आँखाका बिरामीको परीक्षण गरेपछि शल्यक्रिया गर्नुपर्नेहरूलाई एकै ठाउँमा जम्मा पारेर शल्यक्रिया गरिएको हो ।
मोदी गाउँपालिका, फलेबास नगरपालिका र कुस्मा नगरपालिकामा चलाइएका आँखा शिविरहरूमा ८७० जनाको आँखा परीक्षण गर्दा ४५ जनाको शल्यक्रिया गर्नुपर्ने भेटिएको थियो । आँखाको परीक्षण र शल्यक्रियामा हिमालय आँखा अस्पताल पोखराको टोली खटिएको थियो ।
लायन्सले सञ्चालन गरेका आँखा जाँच र शल्यक्रिया शिविरका लागि आवश्यक खर्च पनि लायन्सहरुले नै व्यवस्थापन गरेका हुन् । केही वर्ष अगाडिसम्म स्वास्थ्य शिविर सञ्चालन गर्न विदेशी लायन्स क्लबबाट सहयोग आउने गरेको भए पनि पछिल्ला चार वर्षयता कुनै पनि सहयोग नआएको शर्माको भनाइ छ । “चार वर्ष अगाडिसम्म डोनेसन आउँथ्यो धेरै शिविरहरू चलाउन सकिन्थ्यो । अहिले सहयोग आउन छोडेको छ”, उनले भने, “हामीहरूले खल्तीको पैसा खर्च गरेर शिविर चलाएका हौँ । कहीँकतैबाट सहयोग भएको छैन ।”
उनका अनुसार चार ठाउँमा राखिएका शिविर र एक ठाउँमा राखिएका मोतियाविन्दु शल्यक्रिया शिविरमा रु तीन लाखभन्दा बढी खर्च भएको अनुमान छ ।





