समाचार

एमाले युवा नेताको आग्रहः सहमतिका आधारमा नेतृत्व चयन

४ मङ्सिर काठमाडौँ । नेकपा (एमाले)को युुवा नेताले दशौँ राष्ट्रिय महाधिवेशनमा सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमद्वारा केन्द्रीय सदस्य चयन गर्नुपर्ने माग गरेका छन् ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा युवा नेताहरुले पार्टीलाई एक ढिक्का बनाउनका लागि सहमतिका आधारमा पदाधिकारी र निर्वाचनको माध्यमबाट केन्द्रीय सदस्य चयन गर्न आग्रह गरेका हुन् । तत्कालीन एमालेका वरिष्ठ नेता नेपालले नेकपा ९एकीकृत समाजवादी० अलग पार्टी गठन गरिसक्नुभएको अवस्थामा पार्टीलाई एकै ढिक्का बनाउन पहल गरेका हुन् । प्रचार विभाग उपप्रमुख सूर्य थापा पार्टीका शीर्ष नेताहरुले सर्वसम्मत नेतृत्व चयनमा जोड दिने बताएका छन् ।

“अहिलेसम्मको विकसित परिस्थितिलाई हेर्दा सहमतिका आधारमा नै नेतृत्व चयन गर्ने प्रयास हुन्छ”, उनले भने, “अहिले कोको उठ्ने निश्चित भइकेको छैन । तैपनि पार्टीलाई थप एकताबद्ध बनाउन सहमतिमा नै नेतृत्व चयन हुन्छ ।” अध्यक्षमा केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल उपाध्यक्षमा भीम रावल, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, सुभास नेम्बाङ र धनश्याम भुसाल, महासचिवमा विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र पृथ्वीसुब्बा गुरुङ आकाङ्क्षी छन् । विद्युतीय उपकरणबाट गरिने मतदानमा १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा आयोग र अनुशासन आयोगमा १५\१५ जनासमेत निर्वाचित हुनेछन् ।

पदाधिकारीमा पुरानै अनुहार दोहोरिए पनि २१० केन्द्रीय सदस्यमा भने युवा नेतृत्व आउने भएका छन् । यसअघि आठौँ र नवौं राष्ट्रिय महाधिवेशनको नेतृत्व निर्वाचनको माध्यमबाट भएको थियो । आठौँ महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनालबीच प्रतिस्पर्धामा खनाल निर्वाचित भएका थिए भने नवौँ महाधिवेशनमा पार्टीका नेता नेपाललाई पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

केन्द्रीय सदस्य खिमलाल भट्टराईले पार्टीलाई आम कार्यकर्ताको माझमा एक ढिक्काको सन्देश दिनका लागि सहमतिका आधारमा पदाधिकारी चयन गर्नुपर्ने माग गरेका छन्। एमालेमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवको व्यवस्था गरिएको छ । नेता भट्टराईले शीर्ष नेतृत्वले पदाधिकारीमा सहमति जुटाउन नसके आफूले पनि उम्मेदवारी दिने बताए ।

“आम कार्यकर्तामा सकारात्मक सन्देश दिनका लागि पदाधिकारी सर्वसम्मत चयन गर्नुपर्दछ”, उनले भने, “यही सहमतिका आधारमा पदाधिकारी चयन गर्न सकिदैन भने मेरो पनि पदाधिकारीमा उम्मेदवारी रहन्छ ।” केन्द्रीय सदस्य माधवप्रसाद ढुङ्गेलले पनि पदाधिकारी सहमतिका आधारमा निर्वाचित गर्न सके पार्टीभित्र गुटबन्दी अन्त्य हुने बताउनुभयो। उहाँले पदाधिकारीभित्र उच्च समझदारी कायम गरेर अगाडि बढेमा आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउनसक्ने जिकिर गरेका छन् ।

“पार्टीलाई एकताबद्ध बनाउन पदाधिकारीमा सर्वसम्मत गर्नसके र केन्द्रीय सदस्यका लागि निर्वाचन भए पनि पार्टीभित्र गुटबन्दी हुँदैन”, उनले भने, “यसले पार्टीलाई थप मजबुत बनाउँछ ।” एमाले नेत्री विद्या भट्टराईले वडादेखि नै सहमतिका आधारमा नेतृत्व चयन भइरहेको अवस्थामा केन्द्रमा पनि सर्वसम्मतका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । “पार्टीबाट केही समूह अलग भएर समस्या आयो ।

त्यो समस्यालाई समाधान गर्न पनि महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्दछ”, उनले भने, “सर्वसम्मत नेतृत्व चयन गर्दा पार्टी एकता भएको सन्देश दिन सकिन्छ ।” उनले सहमतिका आधारमा पनि नेतृत्व चयन गर्दा लोकतान्त्रिक विधि अवलम्बन हुने बताएका छन् । महाधिवेशनमा तत्कालीन नेकपा ९माओवादी केन्द्र०बाट एमालेमा प्रवेश गर्नुभएको रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापालगायत नेता छन् । महाधिवेशनमा देशैभरबाट एक हजार १९९ प्रतिनिधि चयन भइसकेका छन् । यस्तै कूल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनीत गर्नेछ । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ ।