समाचार

सर्वदलीय बैठकः अधिकांस दल शंशोधन बिना एमसीसी पास गर्न नहुने पक्षमा

४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक विना निस्कर्ष टुंगिएको छ । संसदमा जारी अवरोध हटाउने र एमसीसी पारित गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय आज दिउँसो बैठक डाकेका थिए ।

सरकारका प्रवक्ता, सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आजको सर्वदलीय बैठकमा सबै राजनीतिक दलहरुले आ-आफ्नो धारणा राखेको र यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताएक छन् । साथै बैठकमा अधिकांस राजनीतिक दलहरुले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नहुने राय राखेका छन् ।

सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालका अनुसार उनी, राष्टिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले एमसीसी सम्झौता पारित गर्न नहुने धारणा राखेका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सम्झौता संशोधन गर्नुपर्ने पार्टीको धारणा रहेको बताएका थिए । त्यस्तै नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पनि संशोधनविना अगाडि बढाउन नसकिने धारणा राखेका थिए ।

जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा. बाबुराम भट्टराईले सम्झौता पारित हुनुपर्ने पक्षमा धारणा राखेका नेता सुवालले बताएका छन् । सरकारका प्रवक्ता मन्त्री कार्कीले केही राजनीतिक दलले एमसीसी सम्झौताप्रति आशंका व्यक्त गरेकाले सबै विषयमा छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।