६ पुस, काठमाडौं । विवेकशील साझा पार्टीको संयोजकबाट निष्कासनमा परेका मिलन पाण्डेले आफुमाथि गरिएको कारबाहीलाई अस्वीकार गरेका छन् । विज्ञप्ति जारी गर्दै पाण्डेले आफुमाथि कारबाही अवैधानिक तरिकाले गरिएको निर्णय भएको भन्दै अस्वीकार गर्ने बताएका हुन् । उनले पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत नै हल गर्नुपर्नेमा विपरीत पार्टीबाट निष्कासन गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नुलाई दुराशयको पराकाष्ठा ठान्ने भन्दै निर्णयलाई पूर्णतः अस्वीकार गरेका बाएका छन् ।
उनले पार्टीको एकीकरण घोषणापत्र, विधान र विचार विपरीत एकाएक पार्टीमा पश्चगामी, संविधानविरोधी, व्यवस्थाविरोधी बाटोमा हिँड्न पुगेका पार्टी अध्यक्ष रवीन्द्र मिश्रले अबैधरूपमा आफ्नो समूहको बैठक बोलाई पार्टी संयोजकबाट निष्कासन गरेको भन्ने समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन् । साथै उनले पार्टीका सदस्य तथा आम शुभेच्छुकहरूलाई अवैधानिक तरिकाले गरिएको निर्णयको भ्रममा नपर्न आग्रह समेत गरेका छन् ।
ग्रगामी र सुसंस्कृत विवेकशील साझा पार्टी निर्माणका लागि आफुले जीवनका सर्वाधिक ऊर्जाशील १० वर्ष खर्च गरेको भन्दै तत्कालीन विवेकशील नेपाली दलको महाधिवेशनबाट निर्वाचित अध्यक्ष भई रहँदा, पार्टी एकता गर्दा र अन्य राजनीति अभियानमा संलग्न हुँदा विवेकशील साझा पार्टी गठन र सुदृढीकरणका लागि निरन्तर सक्दो योगदान गरेको बताएका छन् । साथै उनले अझै उन्नत, लोकतान्त्रिक र अग्रगामी पार्टी र राजनीतिका लागि मेरो सम्पूर्ण समय, विवेक र ऊर्जा लगाउन प्रतिबद्ध रहेको समेत बताएका छन् । आफ्नो आस्थालाई कसैले खोस्न र कारबाही गर्न नसक्ने उनको भनाई छ ।
पार्टी निर्माण मेरो लागी सत्ताको खेल भन्दा समाजका निम्ति गर्ने योगदान गर्ने अभियान हो । यो अभियानमा म अझ प्रतिबद्ध छु । यसै प्रयोजनमा आजै बिहान हामीले विवेकशील साझा पार्टीमा हालका सम्पूर्ण केन्द्रीय समिति सदस्य समेत सहभागी २०१ सदस्यीय विवेकशील साझा पार्टी सुदृढीकरण अभियानु को केन्द्रीय समिति घोषणा भएको छौ । यो कुनै समानान्तर समिति नभई पार्टीलाई अझ सुदृढ गर्ने र तलैबाट पार्टीको जग निर्माण गर्ने मूल कार्यक्रम हो। यो मङ्सिर २४, २०७४ मा भएको पार्टी एकीकरणको मर्म सहितको विवेकशील साझा पार्टीको निरन्तरता हो पाण्डेद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।
कानुनी रूपमा आफुहरुको मुद्दा निर्वाचन आयोगले हेरिरहेको र आफुलाई विश्वास रहेको भन्दै निर्वाचन आयोगमा बुझाइएको किर्ते दस्ताबेजलाई आयोगले खारेज गर्ने र आफुले त्यहाँबाट न्याय नपाए अदालतले न्याय दिने उनको भनाई छ। साथै उनले पार्टीको विचार त्यागेका, विधान च्यातेका र एकीकरण घोषणापत्र माथि लात हानेका पार्टीका कुनै पनि नेतालाई विवेकशील साझा पार्टीको नाम, चिन्ह र पहिचान प्रयोग गर्ने कुनै अधिकार नभएको बताएका छन् । उनले अगाडी भनेका छन्, हामी विवेकशील साझा पार्टीलाई वास्तविक विचार, नाम, शैली र पहिचानमा निरन्तरता दिनेछौँ र पार्टीमा भई रहेका अवैधानिक गतिविधिलाई निस्तेज गर्दै अघि बढ्नेछौँ ।





