१० चैत, धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले अध्यात्मिक चिन्तनमा लागेपछि मात्र मानिसलाई जीवनको महत्व थाहा हुने अनुभव सुनाएका छन् ।
बुधबार धनगढीमा आयोजित सर्वोदय शान्ति पदयात्राको स्वागत समारोहमा नेत्री डा देउवाले मानिसको जीवनमा अध्यात्मको महत्व र आवश्यकतासम्बन्धी आफ्ना अनुभव सुनाएका हुन् । उनले भने, “अध्यात्ममा लागेपछि मानिसलाई नकारात्मक सोच र विचार त्याग्न मद्दत गर्दछ र हरेकको चिन्तनमा सकारात्मक सोच प्राप्त भएपछि मात्र समाज परिवर्तन सम्भव छ ।”
समाजका कैयन् ठूला परिवर्तन, विविध जटिल समस्या एवं द्वन्द्वहरुको समाधानसमेत सकारात्मक सोचबाट मात्र सम्भव भएका अनेक दृष्टान्त प्रस्तुत गर्दै नेत्री डा देउवाले “अध्यात्मिक चिन्तन र व्यवहारले नै मानिसलाई अफ्नो जीवनका हरेक कठिनाइको सामना गर्न सहयोग पुग्दछ ।”
आफू बिरामी भएर करिब सात महिना जापान बसेका समयको अनुभव सुनाउँदै उनले भने, “म बिरामी भएर जापानमा सात महिना बसेँ, त्यहाँ सबैसँग अन्तक्र्रिया गर्न मलाई भाषाको समस्या थियो, त्यस समयमा म अध्यात्मिक विषयको अध्ययन र चिन्तनमा रमाउन पुगेँ, यसले मेरो उपचार प्रक्रियामा पनि म आफैँलाई प्रेरणा प्राप्त भएको अनुभव गरेँ र जसले गर्दा म छिट्टै निको भएँ जस्तो मलाई लागेको छ ।”
उनले मानवीय जीवनमा नै डा मणिभद्र मुनीजी महाराजको सन्देश, उपदेश तथा मन्त्रको ठूलो प्रभाव रहने विचार राखे । मणिभद्र महाराजको तपस्या प्रेरणादायी रहेको चर्चा गर्दै कांग्रेस नेत्री डा राणाले भनिन् , “उहाँ ४० वर्षदेखि हिँड्दै आएका छन् । ८५ हजार किलोमिटर हिँड्ने उहाँको क्षमता र आत्मशक्ति अतुलनीय छ ।”
सो स्वागत कार्यक्रममा डा मणिभद्र मुनीजी महाराजले साधनाको माध्याबाट मानिसले आफूलाई शान्त बनाउन प्रयास गर्नुपर्ने बताए । उनले अहिलेको वैज्ञानिक युगमा पनि अध्यात्मिक चिन्तन एवं साधनाको सबैभन्दा ठूलो शक्ति रहेको भन्दै मानिसले साधनाबाट नै धेरै प्राप्त गर्नसक्ने बताए ।
आफू शान्त भएपछि मात्र अरुलाई शान्तिको सन्देश दिन सकिन्छ भन्दै उहाँनले दुःखमा कोही पनि आत्तिनु नहुने र भगवान राम, कृष्ण र महावीरको जीवनमा पनि दुःख आएको दृष्टान्त प्रस्तुत गरे ।
कार्यक्रममा पूर्वसांसद शङ्कर पाण्डे, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, बिपी चिन्तन अन्तर्राष्ट्रिय समितिका सन्दीप रानालगायतले अध्यात्म र डा मणिभद्र महाराजको बारेमा चर्चा गरे । मेचीबाट पैदलयात्रा गरेर नेपाल प्रवेश गरेका डा मणिभद्र महाराज एवं विराज मुनीजी महाराज पोखरा हुँदै धनगढी पुगेका हुन् । उनीहरु अब कञ्चनपुरको गड्डाचौकी हुँदै भारत जानेछन् ।
डा मणिभद्र मुनीजी महाराज जैन धर्मावलम्बीका गुरु हुन् । उनले शान्ति र अहिंसाको कामना गर्दै पदयात्रा गरेका छन् ।





