२८ असार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गरेका छन्। नयाँ बानेश्वरस्थित एक होटलमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटवार्तापछि अध्यक्ष नेपालले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै कसरी नेपाल र चीनबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको बताए । अध्यक्ष नेपालले चीन विरुद्ध नेपालको भूमि प्रयोग हुन नदिने नेपालको परराष्ट्र नीतिबारे आफूहरूले विश्वस्त बनाएको बताए ।
दुवै देशका राजनीतिकलगायत विभिन्न तहबाट हुने भ्रमणबाट एकापसमा सम्बन्ध सुमधुर रहने सिपिसीका विदेश विभाग प्रमुख जियानचाओले विचार व्यक्त गरेको र विभिन्न पार्टीसँग सम्बन्ध सुमधुर बनाउन चाहेको बताएका थिए । सो अवसरमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षद्वय जयन्ती राई र प्रमेश हमाल, उपमहासचिवद्वय डा गङ्गालाल तुलाधर र जगन्नाथ खतिवडा, सचिव प्रकाश ज्वालालगायत नेता सहभागी छन् ।





