राजनीति

प्रधानमन्त्रीलाई प्रश्न- रास्वपाले दिएको अल्टिमेटम सकिँदैछ ?

२१ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अगाडि सार्दै आएका विषयमा सबै पक्षसँग छलफल गर्ने बताएका छन् ।

रास्वपाले उठाएको गृह मन्त्रालयका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने प्रधानमन्त्री दाहालले बताए । शनिबार भएको स्थायी कमिटी बैठकपछि उनले अहिले आफ्नो कुरा भइरहेको र समस्या समाधान हुने बताए ।

रास्वपाले दिएको अल्टिमेटम सकिँदैछ भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ । समस्याको समाधान हुन्छ।’

रास्वपाले गृह मन्त्रालय आफैले पाउनुपर्ने भन्दै दाबी गर्दै आएको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले निर्णय गरेपछि सो पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको सांसद पदसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारीसमेत खोसिएको थियो । पुनः नागरिकता प्राप्त गरेलगत्तै लामिछानेले आफूलाई पुनः सोही पदमा पुनःस्थापित गरिदिन माग गर्दै आएका छन् ।