२३ माघ, काठमाडौं । काठमाडौं जिल्ला अदालतले ‘मिस ग्लोबल इन्टरनेसनल’ नामक सौन्दर्य प्रतियोगिताका आयोजक मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय सुनाएको छ ।
सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बारम्बार यौन शोषण गरको आरोपमा सोमबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई मानव बेचबिखन गरेको कसुरमा ७ वर्षको कैद सजाय र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका हुन् ।
सन् २०१४ को सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीलाई ‘सक्सेस पार्टी’ दिने भन्दै पाण्डेले नयाँ बानेश्वरको एभरेस्ट होटलमा बोलाएर बलात्कार गरेको अभियोग लागेको थियो ।
त्यतिखेर आफू नाबालिग नै भएको र त्यस घटनापछि विक्षिप्त भएको भन्दै गत जेठमा ती किशोरीले टिकटकमा २२ वटा भिडियो क्लिप सार्वजनिक गरेकी थिइन् ।
भिडियो सार्वजनिक भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई भेटेर जाहेरी दिन भनेको थियो । त्यसपछि पाण्डे अनुसन्धानमा तानिएर पक्राउ परेका थिए। आठ वर्षअघिको घटना भएकाले बलात्कार अभियोगमा भने प्रहरीले मुद्दा चलाउन सकेन ।
प्रहरीले पाण्डेलाई गत जेठ ७ गते पक्राउ गरेको थियो ।





