३० असार, विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले साँदको बहुमत आएमा संसदीय दलको नेता बदल्ने बताएका छन् ।
विराटनगरमा आज पत्रकारहरूसँगको कुराकानीमा महामन्त्री थापाले आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका छन्।
उनले भने, “संसदीय दलको नेताका लागि मैले भिडेकै हो । पार्टीमा विधानअनुसार दलको नेता परिवर्तन भएको इतिहास छ । मलाई आवश्यक संख्या पुगेको महसुस भएको दिन नेता परिवर्तन गरेर अघि बढ्छु । ”
उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटकपटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको विचार व्यक्त गरे।
देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो । कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उनले बताए। केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको उल्लेख गर्दै उनले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित पारेको धारणा राखे।
महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्नाका साथै नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरुबीच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्नाका साथै नयाँ बाटो खोज्ने बताए। वर्तमान गठबन्धन सरकार परिवर्तन नहुने जिकिर गर्दै उनले सरकारले जनताप्रति दत्तचित्त भई कार्य गर्नुपर्नेमा जोड दिए।





