३१ साउन, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन घटाएको जनाएको छ ।
निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रहेकामा एक सय ६२ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर रु एक सय ६९ रहेकामा एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ७० रहेकामा एक सय ६५ कायम गरिएको छ ।
साथै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ५५ रहेकामा एक सय ५२ कायम गरिएको छ । साथै दोस्रो वर्गका लागि एक सय ५७ रहेकामा एक सय ५४ र तेस्रो वर्गका लागि एक सय ५८ रहेकामा एक सय ५५ कायम गरिएको निगमले जनाएको छ ।
पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ । नेपाली काँग्रेस र एमाले नेतृत्वको सरकार आएपछि नेपाल आयल निगमले तेलको मुल्य यसअघि पनि घटाएको थियो ।





