राजनीति

मुलुकलाई अगाडि बढाउन संविधान संशोधन आवश्यक : वरिष्ठ उपाध्यक्ष पोखरेल

३२ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिले मुलुकमा देखिएको राजनीतिक अस्थिरता अन्त्यको सुरुआत गरेको बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले आज यहाँ आयोजना गरेको ‘काठमाडौँ सहरीकरणः वर्तमान प्रवृत्ति, योजना र लगानी’ बिषयक अन्तरक्रियामा उनले दुई पार्टीले मुलुकलाई नयाँ गन्तव्यमा पु¥याउन चाहेको बताए ।

उनले मुलुकलाई विकास, समृद्धि र स्थिरताको बाटोमा अगाडि बढाउन संविधानका केही प्रावधानलाई संशोधन गर्न आवश्यक रहेको समेत बताए । “शासकीय स्वरूप र निर्वाचन प्रणालीमा देखापरेका समस्या तथा संविधानमा कतिपय कुरा मिलाउनुपर्ने छन् । यसबीचमा संविधानको व्यवहारिक अभ्यासका क्रममा देखापरेका सङ्गति नमिलेका कुराहरू सच्च्याउने अवसर पनि छ”, उनले भने, “विज्ञहरूले यति बेला मन खुलाएर कहाँ कहाँ सच्च्याउनुपर्ने हो । त्यस विषयमा सुझाव दिन जरूरी छ । त्यसैले म देश विकासका लागि राजनीतिक प्रणालीमा के के गर्न आवश्यक छ, त्यसमा पनि सुझावका लागि आग्रह गर्दछु ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौँ, ललितपुर र भक्तपुरको एकीकृत विकासका लागि भू–उपयोग नीति आवश्यक रहेको धारणा राखे । “काठमाडौँमा बस्ती बसाउन कहाँ ?, खेतीपाती गर्ने कहाँ ? बजार बसाउन कहाँ ? भनेर भूउपयोग नीति प्रभावकारी ढङ्गबाट लागू गर्नुपर्दछ”, उनले भने, “अहिलेको जस्तो जसले, जसरी, जे गरे पनि छुट पाउने अववस्था रहनुहुँदैन । त्यसैले भूउपभोग नीति कार्यान्वयन हुनुपर्छ ।”

कार्यक्रममा एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले अव्यवस्थित बसोबास व्यवस्थित गर्न पनि भूउपभोग नीति आवश्यक रहेकामा जोड दिए ।