राजनीति

निराशालाई आशामा बदल्न कांग्रेस र एमालेको समीकरण : गृहमन्त्री लेखक

३ भदौ, काठमाडौं। गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन् ।

सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चौपातो नेपालद्वारा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् सांगीतिक काव्य गोष्ठीमा गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएपनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उनले बताए ।

‘समीकरण बन्ने र भत्किने क्रम चल्यो । सरकारको अस्थिरताको सबै क्षेत्रमा प्रभाव देखा पर्‍यो। मुलुकको आर्थिक विकास र सुशासनको क्षेत्रमा विधिको शासनलाई अगाडि बढाउन समस्या देखियो। राजनीति अस्थिरता कारणले उत्पन्न समस्याले मुलुकमा निराशा बढायो। त्यो निराशालाई आशामा बदल्नका स्थिर सरकार आवश्यक भयो’ उनले भने ।