१० भदौ, काबुल । अन्तर्राष्ट्रिय समुदाय र अफगानहरूले नयाँ प्रतिबन्धहरूप्रति चिन्ता व्यक्त गरेपछि हालै अनुमोदन गरिएको सदाचार कानून ‘सौम्यता’ का साथ लागु हुने अफगानिस्तानका तालिबान अधिकारीहरूले सोमबार बताएका छन् ।
न्याय मन्त्रालयले बुधबार घोषणा गरेको ३५ दफाको कानूनअनुसार महिलाहरूले आफूलाई पूर्ण रूपमा ढाक्नु पर्छ र सार्वजनिक रूपमा आफ्नो आवाज उठाउनु हुँदैन ।
कानूनले पुरुषको लुगा र दाह्री लम्बाइका नियमका साथै समलैङ्गिकता, जनावरहरूको लडाइँ, सार्वजनिक र गैर–मुस्लिम बिदाहरूमा सङ्गीत बजाउन प्रतिबन्धसहित व्यवहारदेखि पहिरन र सामाजिक अन्तरक्रियाहरू सम्मका व्यापक नियमहरू लागू गर्दछ ।
“मैले यी नियमहरू लागु गर्दा बल र दमन प्रयोग गरिने छैन भन्ने स्पष्ट पार्नुपर्छ”, सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रातले एएफपीसँग साझा गरेको मौखिक सन्देशमा भने, “नियमहरूलाई विस्तारै लागु गरिनेछ, मानिसहरूलाई यसको जानकारी दिइनेछ र उनीहरूलाई मार्गदर्शन गरिनेछ ।”
तालिबान सरकारले महिलामाथि लगाइने प्रतिबन्धको निन्दासहित आफ्ना नीतिहरूको अन्तर्राष्ट्रिय आलोचनालाई निरन्तर रूपमा खारेज गर्दै आएको छ । यसलाई संयुक्त राष्ट्रसङ्घले लैङ्गिक रङ्गभेद भनेको छ ।
अफगानिस्तानमा राष्ट्रसङ्घीय सहायता मिशनका प्रमुख रोजा ओतुनबायेवाले कानूनलाई ‘अफगानिस्तानको भविष्यको लागि दुःखदायी दृष्टिकोण’ भनेका छन् ।





