११ भदौ, न्यूयोर्क । प्यालेस्टीनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी युएनआरडब्लुए का अधिकारीहरूले गाजाको अवस्था “विनाशकारी“ भएको जनाएका छन् । यसै क्रममा उनीहरुले र विगत दुई हप्तामा गाजामा जारी थप निकासी आदेशको बिचमा मानिसहरूलाई सीमित गरिएको ठाउँ “धेरै सानो“ र साँगुरो भएको पनि दोहोर्याएका छन् ।
न्युयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा गाजाका युएनआरडब्लुएका प्रवक्ता लुइस वाटर्रिज र युएनआरडब्लुएका प्रथम उपक्षेत्र निर्देशक विसम रोजले भिडियो मार्फत पत्रकारलाई यस्तो जानकारी दिएका हुन् ।
यसै क्रममा वाटर्रिजले हरेक दिन लाखौँ मानिसहरू सुरक्षित आश्रयको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा सर्न बाध्य भइरहेको बताए ।
उनका अनुसार निकासी आदेश पछि गाजामा मानिसहरुले आफ्नो सामान सार्दै छन् ,अधिकांश मानिसहरूलाई जबरजस्ती सारिएको छ भने विस्थापीतका लागि सवारी साधनको सीमित पहुँच छ र उनीहरुलाई कहाँ जाने भन्ने पनि थाहा छैन ।
उनले खान युनूस र अल–मवासीमा इजरायलले घोषणा गरेको मानवीय क्षेत्रमा, बलौटे जमिनमा भीडभाड रहेको बताउदै सुरक्षित क्षेत्र भनिएको यस क्षेत्रमा पनि सुरक्षित नरहेकोले मानिसलाई ज्यान जोगाउन सुरक्षित ठाउँ नभएको बताएका छन् ।
युएनआरडब्लुएका प्रथम उपक्षेत्र निर्देशकले हालैको निकासी आदेशले इजरायलको मानवीय क्षेत्रलाई सम्पूर्ण गाजा पट्टीको ११ प्रतिशतमा मात्र कायम गरेको बताए।
जहाँ मानिसहरू भेला भई बाँच्नका लागि प्रयास गर्ने बताउदै उनीहरु कयौँ बाध्यताको बीच “असम्भव विकल्पहरू“ सामना गर्ने गरेको जानकारी उनले दिए।
उनले यस क्षेत्रमा पोलियो फैलिन सक्ने चेतावनी दिँदै कुपोषित बालबालिकामा विनाशकारी स्वास्थ्य क्षेत्र, दुषित पानी र सरसफाइको अवस्थाले उनीहरूको प्रतिरक्षा प्रणाली कमजोर भएको उल्लेख गरे ।
अधिकारीले पोलियो खोप अभियानलाई सफल बनाउनका लागि निर्देशन दिइरहेको र अर्को शनिबार देखि अभियान सुरु हुने बताए ।





