समाचार

सभापति देउवाद्वारा कोइरालाको निधनप्रति दुःख व्यक्त

१३ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका योद्धा, प्रजातन्त्र सेनानी एवं कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन्।

कोइरालाको आज ८५ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत कोइरालाको निधनको खबरले स्तब्ध र दुखित बनाएको उल्लेख गरेका छन् । सभापति देउवाले उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

कांग्रेसले सङ्गठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा कोइरालाले निर्वाह गरेको सक्रिय भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गरेको छ । विसं २०४८ देखि २०५२ सम्म उनी पाल्पा जिल्लाको सभापति थिए । उनी विसं २०१५ मा युवा कांग्रेस पाल्पाको अध्यक्ष थिए ।

पाल्पा जिल्ला तानसेन नगरपालिका–६ निवासी स्व कोइरालाले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षका क्रममा पटक–पटक जेल जीवन बिताएका थिए । उनको निधनबाट कांग्रेसले लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धालाई गुमाएको जनाएको छ ।