२५ साउन, काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गरेता पनि आन्तरिक विवादको समाधान भने अझै हुन सकेको छैन ।
बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामालाई यहि साउन महिनामै संसदीय दलको नेताबाट हटाएपछि पार्टीका इन्द्र बहादुर बानियाँ दलको नेता बनेका थिए । लामा र बानियाँबीच चुनावी प्रणाली मार्फत प्रतिस्पर्धा भएको थियो । सोही प्रतिस्पर्धाबाट बानियाँले लामालाई पराजित गर्दै कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा विजयी भएका थिए । पराजित भएपछि पनि लामाले मुख्यमन्त्री पदबाट नहट्ने दावी गर्दै आएका थिए ।
त्यसपछि पार्टी सभापति शेरबहादुर देउवाले बानियाँ र लामा दुवै जना नेतालाई काठमाडौंमा बोलाएर छलफल गरेका थिए । सोही छलफलपछि सभापति देउवाले मुख्यमन्त्री लामालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए । सोही निर्देशनपछि लामाले राजीनामा दिएर मार्ग प्रशस्त गरेका थिए । लामाले राजीनामा दिएपछि बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका छन् ।
तर तत्कालीन मुख्यमन्त्री लामाले पार्टी सभापति देउवासँग आफूले मन्त्री पदमा न्युक्त गरेका ३ जना मन्त्रीहरु गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई नयाँ मन्त्रिपरिषद विस्तार गर्ने क्रममा नहटाउने सहमती भएको थियो । तर बानियाँले सहमती कार्यन्वयन नगरेपछि फेरी विवाद उत्कर्षमा पुगेको छ । बानियाँले विश्वासको मत लिने दिन नजिकिंदै छ । यहि साउन २७ गते बानियाँले विश्वासको मत लिने कार्यसूची तय गरिएको छ ।
यदि मुख्यमन्त्री बानियाँ र लामाबीचको विवाद समाधान भएन भने बानियाँको विश्वासको मत नै संकटमा पर्ने देखिएको छ ।





