राजनीति

कांग्रेस केन्द्रीय कार्यालयमा युवा कार्यकर्ताको तालाबन्दी

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका युवा कार्यकर्ताहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेका छन् । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न तथा महाधिवेशनमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन्।

उनीहरूले पार्टीमा निर्णय प्रक्रियामा ढिलाइ भएको भन्दै छिटो कदम चाल्न दबाब दिने उद्देश्यले प्रदर्शनसमेत गरेका छन्।

केन्द्रीय समितिको बैठक २८ असोजदेखि पटक–पटक स्थगित हुँदै आएको छ। शुक्रबारका लागि बैठक डाकिएको थियो, तर बस्न नसकी आजका लागि सारियो। तर आजको बैठक पनि नबसी मंगलबारका लागि सारिएको थियो।

केन्द्रीय समितिको बैठक फेरि स्थगित हुँदा कार्यालयमा तालाबन्दी गर्नुपरेको जानकारी सहभागी विद्यार्थी नेता भुवन भट्टले दिएका छन्।