आर्थिक

बैंक कर्मचारीलाई आक्रमण गरेको प्रति एनआईसी एशिया बैंकका कर्मचारीको घोर भत्र्सना

२९ मंसिर, काठमाडौं । हालै ज्योति विकास बैंक लिमिटेडका कर्जा असुली कार्यमा आधिकारिक कर्तव्यमा खटिएका कर्मचारीहरू कर्जा असुली गर्न जाने क्रममा केही ऋणिद्वारा सार्वजनिक स्थलमै अत्यन्तै अमानवीय, अपमानजनक र गैरकानुनी व्यवहारको सिकार भएको घटनाप्रति यस एन आई सी एशिया बैंक कर्मचारी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

कानुनी दायराभित्र रहेर आफ्नो कर्तव्य निर्वाह गरिरहेका बैंक कर्मचारीहरूमाथि यस प्रकारको हिंसा र सार्वजनिक अपमान हुनु सम्पूर्ण बैंकिङ प्रणाली, विधिको शासन र वित्तीय अनुशासनमाथिको प्रत्यक्ष आक्रमण हो ।

बैंकिङ सेवा कानुनद्वारा संरक्षित सार्वजनिक सेवा हो र ऋण असुली कार्य बैंकिङ प्रणालीको अभिन्न अङ्ग हो । यस कानुनी प्रक्रिया अन्तर्गत हुने÷गरिएका कर्जा असुली कार्यलाई डर, धाक, धम्की, दुव्र्यवहार वा हिंसाबाट अवरुद्ध गर्नु प्रचलित कानुन अनुसार दण्डनीय अपराध हो । यस्ता गतिविधिहरूमा मौन रहनु भनेको वित्तीय अराजकतालाई प्रोत्साहन गर्नु हो ।

यस घटनाले बैंक कर्मचारीहरूको सुरक्षा, मनोबल र कार्य वातावरणमा गम्भीर संकट उत्पन्न गर्नुका साथै सर्वसाधारणको बैंकिङ प्रणालीप्रतिको विश्वासलाई पनि कमजोर बनाउने जोखिम बढेको छ ।

बिगतमा पनि बैंकिङ सेवामा आबद्ध कर्मचारी लक्षित आक्रमण हुदै आइरहेको प्रति ध्यानाकर्षण गराउदै, यस्ता घटनामा समयमै सम्बन्धित निकायको कडा हस्तक्षेप नहुने हो भने, बैंकिङ सेवामा आबद्ध सम्पूर्ण कर्मचारीहरू ऐक्यवद्धता जनाउँदै बैंकिङ सेवा अवरुद्ध भइ गम्भीर अवस्था सिर्जना हुन सक्ने बस्तुस्थितिलाई नकार्न सकिन्न ।

अतः यस संघ, नेपाल सरकार – अर्थ मन्त्रालय, गृह मन्त्रालय, नियामक निकाय – श्री नेपाल राष्ट्र बैंक, सुरक्षा अंग–नेपाल प्रहरी, नेपाल बैंकर्स संघ , डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, बैंक तथा बित्तिय संस्था परिसंघ, लगायत सबै सरोकारवाला निकायहरूलाई तत्काल, प्रभावकारी हस्तक्षेप गर्न कडा रूपमा आग्रह गर्दछौँ । यस्ता घटनाको पुनरावृत्ति रोक्न कर्मचारीहरूको सुरक्षाका लागि स्पष्ट सुरक्षा मापदण्ड, फाँटमा खटिँदा प्रहरी समन्वय, र जोखिमयुक्त कार्यका लागि संस्थागत संरक्षणको सुनिश्चितता गर्न बैंक तथा नियामक निकायलाई आग्रह गर्दछौं । साथै, बैंकिङ संस्थाका सम्पूर्ण कर्मचारी संघ तथा यूनियनहरू लाई पनि बैंकिङ सेवामा आबद्ध कर्मचारीहरूको हकहित र सुरक्षाको निमत्त ऐक्यवद्ध रहन आह्वान गर्दछौ ।

दोषी पहिचान गरी कानुनअनुसार कडा कारबाही सुनिश्चित गरियोस्, बैंक कर्मचारीहरूको भौतिक तथा मानसिक सुरक्षा प्रत्याभूति गरियोस्, र भविष्यमा यस्ता आपराधिक गतिविधि दोहोरिन नदिन शून्य सहनशीलताको नीति अवलम्बन गरियोस् ।
बैंकिङ सेवामाथि गरिने कुनै पनि प्रकारको धम्की, दुव्र्यवहार वा हिंसा स्वीकार्य छैन । बैंक कर्मचारीहरू श्रमिक हुन्—उनीहरू कुनै अपराधी होइनन् । कानुनको शासन, संस्थागत मर्यादा र कर्मचारीको गरिमाको संरक्षण हामी सबैको साझा दायित्व हो ।