समाचार

कांग्रेस विशेष महाधिवेशन: वार्ता निष्कर्षविहीन, निर्वाचन प्रक्रिया अगाडि

३० पुस, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।

मंगलबार बन्दसत्र सम्पन्न भएपछि सुरु भएको निर्वाचन प्रक्रिया राति स्थगित गरिएको थियो भने आज बिहानदेखि पुनः अघि बढाइएको हो। विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच रातभर चलेका वार्ताहरू निष्कर्षविहीन भएपछि निर्वाचन प्रक्रियालाई निरन्तरता दिइएको विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन्। यद्यपि, सहमतिको प्रयासस्वरूप वार्ता अहिले पनि जारी रहेको जनाइएको छ।

निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको कार्यतालिकामा परिमार्जन गर्दै निर्वाचन प्रक्रिया अघि बढाएको छ। प्रारम्भिक तालिकाअनुसार मंगलबार नै सकिनुपर्ने मनोनयन दर्ताको समय संशोधन गरी आज बिहानदेखि पुनः मनोनयन दर्ता सुरु गरिएको हो।

विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार रातभरका विभिन्न चरणमा भएका छलफलमा सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नदेखिएपछि निर्वाचनमार्फत नै पार्टीको नीति र नेतृत्व परिवर्तन गर्ने निष्कर्षमा पुगिएको हो।

आज बिहान पनि दुवै पक्षबीच संवाद जारी रहेको छ। वार्तामा सहभागी एक नेताले सहमतिको सम्भावना कमजोर बन्दै गएको बताएका छन्।

यसैबीच विशेष महाधिवेशन पक्षधर नेताहरूले पदाधिकारी संरचनाको खाका तयार गर्ने कामसमेत अघि बढाएको जनाइएको छ। वार्ता निरन्तर चलिरहेको अवस्थालाई ध्यानमा राख्दै मनोनयन दर्ताको समय थप्न सकिने निर्वाचन समितिले जानकारी दिएको छ।