समाचार

सोमबार स्थगित प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

२६ जेठ, काठमाडौं । सोमबार स्थगित संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दिने कार्यसूची छ ।

अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेलगायत सम्भावित कार्यसूची छ ।

तर, आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्छ अथवा गर्दैन निश्चित छैन । प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध पार्दै आएका छन् ।

सोमबार बसेको संसद्‌मा रहेका दलका नेताहरूको सर्वदलीय बैठकले पनि संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटाउन नसक्दा बैठक सञ्चालन हुन सकेको थिएन ।