२६ जेठ, काठमाडौं । विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्था थप सहज बनाएको छ।
नयाँ व्यवस्थाअनुसार विदेशमा अध्ययन गर्न जाने वा अध्ययनरत विद्यार्थीको खातामा आवश्यक परेको अवस्थामा तोकिएको रकमभन्दा बढी विदेशी मुद्रा पठाउन सकिनेछ। विनिमय दरमा हुने उतारचढावका कारण अतिरिक्त खर्च हुन सक्ने भएकाले आवश्यक रकममा अधिकतम ५ प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रा पठाउने सुविधा दिइएको राष्ट्र बैंकले जनाएको छ।
विद्यार्थीको भिसा प्राप्ति, नवीकरण तथा निर्वाह खर्चका लागि सम्बन्धित देशको दूतावास वा सरकारी निकायले निश्चित रकम खातामा देखाउनुपर्ने शर्त राखेमा सोही आधारमा अतिरिक्त रकम राख्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले परिवर्त्य विदेशी मुद्राको सूचीमा नरहेका स्थानीय मुद्रामा रकम देखाउनुपर्ने अवस्था भए आवश्यक प्रमाणका आधारमा सटही सुविधा उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।
यस्तै, विदेशमा अध्ययनरत विद्यार्थीलाई पठाइने निर्वाह खर्चका लागि हाल कायम सटही सुविधालाई निरन्तरता दिइएको छ। आवश्यक कागजातका आधारमा अन्य शैक्षिक शुल्कका लागि समेत विदेशी मुद्रा सटही गर्न सकिने जनाइएको छ।
यससँगै राष्ट्र बैंकले डिजिटल कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ। अब विद्युतीय कारोबारसम्बन्धी कानुनअनुसार डिजिटल हस्ताक्षरबाट प्रमाणित गरिएका कागजातलाई समेत आधिकारिक रूपमा स्वीकार गरिनेछ।





