२६ जेठ, गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार सञ्चालनको आधार कुनै राजनीतिक दलको आन्तरिक विधान नभई देशको संविधान र कानुन हुनुपर्ने बताएका छन्।
गोरखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले सरकारलाई जनताले निश्चित अवधिका लागि जिम्मेवारी दिएको उल्लेख गर्दै त्यसलाई संविधानको सीमाभित्र रहेर सञ्चालन गर्नुपर्ने बताए। सरकारका कामकारबाही संविधानअनुसार भइरहेका छन् वा छैनन् भन्ने विषयमा निगरानी राख्नु प्रतिपक्षको दायित्व भएको उनको भनाइ थियो।
उनले कांग्रेसले सरकारका सकारात्मक काममा साथ दिने तर कमजोरी र त्रुटि देखिए प्रश्न उठाउने बताए। विगतका वर्षहरूमा सत्ता पक्ष र प्रतिपक्ष दुवैले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसक्दा राजनीतिक प्रणालीप्रति जनविश्वास कमजोर बनेको पनि उनले टिप्पणी गरे।
सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग कांग्रेसले लामो समयदेखि उठाउँदै आएको उल्लेख गर्दै थापाले त्यसका लागि आफूहरू सहयोग गर्न तयार रहेको बताए। तर छानबिन प्रक्रिया निष्पक्ष, पारदर्शी र विश्वसनीय हुनुपर्नेमा उनले जोड दिए।
थापाले प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूलाई आफ्नो सम्पत्तिको स्रोत स्पष्ट रूपमा सार्वजनिक गर्न चुनौती दिँदै सुशासनका लागि पारदर्शिता अपरिहार्य रहेको बताए। उनले सरकारलाई चुनावका बेला जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न पनि आग्रह गरे।





