ब्रेकिङ न्युज

बजार घट्दा पनि किन बढ्यो कारोबार ? एकैदिन ६ अर्ब ४४ करोडको किनबेच

२६ जेठ, काठमाडौं । सेयर बजारमा लगातार चौथो कारोबार दिन पनि गिरावट देखिएको छ। मंगलबार नेप्से परिसूचक १.५४ अंकले घटेर २७३३ अंकमा कायम भएको हो।

कारोबार सुरु भएपछि बजारमा दबाब बढ्दै जाँदा नेप्से एक समय २७०२ अंकसम्म झरेको थियो। तर अन्तिम समयमा केही सुधार आएपछि बजारले क्षति सीमित गरेको देखिएको छ। यसअघि पनि लगातार तीन कारोबार दिन बजार ओरालो लागेको थियो।

बजार घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। सोमबारको तुलनामा कारोबार रकम झन्डै साढे दुई अर्ब रुपैयाँले बढेर ६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ, जुन पछिल्ला केही सातायताकै उच्च कारोबार हो।

मंगलबार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ। क्षेत्रगत रूपमा फाइनान्स समूहमा सबैभन्दा बढी गिरावट देखिएको छ भने होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन लगायतका केही समूहमा सामान्य वृद्धि भएको छ।

हालै सूचीकृत भएका सोपान फर्मास्युटिकल्स र कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले भने उल्लेख्य लाभ कमाएका छन्। दुवै कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ।