समाचार

अब जथाभावी हेडलाइट र प्रेसर हर्न लगाए कारबाही हुने

२६ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा जथाभावी चर्को बत्ती र प्रेसर हर्न जडान गरी प्रयोग नगर्न चेतावनी दिएको छ।

विभागले मंगलबार जारी गरेको सूचनामा उत्पादक कम्पनीले तोकेको मापदण्डभन्दा फरक किसिमका हेडलाइट जडान गरेर सवारी सञ्चालन गर्ने प्रवृत्ति बढेको भन्दै त्यसले सडक सुरक्षामा गम्भीर जोखिम निम्त्याउने जनाएको छ।

विभागका अनुसार अत्यधिक उज्यालो वा मापदण्डविपरीतका बत्ती प्रयोग गर्दा अन्य सवारी चालक तथा पैदलयात्रीलाई समस्या हुने र दुर्घटनाको जोखिम बढ्ने सम्भावना रहन्छ। सवारी तथा यातायात व्यवस्था ऐनअनुसार सम्बन्धित निकायको स्वीकृतिबिना सवारी साधनमा प्राविधिक हेरफेर गर्न पाइँदैन।

त्यस्तै, हर्नको प्रयोगमा पनि विभागले कडाइ गर्ने जनाएको छ। तोकिएको ध्वनि क्षमताभन्दा बढी आवाज आउने प्रेसर हर्न तथा अन्य अनधिकृत हर्न जडान गरी सवारी चलाउन नपाइने स्पष्ट पारिएको छ।

विभागले मापदण्डविपरीत बत्ती वा हर्न प्रयोग गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।