ब्रेकिङ न्युज

जेठ ३० देखि १९ असारसम्म देशव्यापी सुझाव सङ्कलन गर्दै एमाले

२६ जेठ, काठमाडौं । नेकपा एमालेले देशव्यापी सुझाव संकलन गर्ने भएको छ ।

पार्टी उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रुपमा सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आज पार्टी कार्यालय च्यासलमा बसेको कार्यदलको पहिलो बैठकले संगठन सुदृढीकरण र भावी कार्यदिशा निर्धारणलाई लक्षित गर्दै असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।

उनका अनुसार बैठकले पार्टी संरचना थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

बैठकले तय गरेको कार्यतालिका अनुसार विभिन्न प्रदेश तथा संरचनागत निकायहरूमा सुझाव सङ्कलन कार्यक्रमअनुसार जेठ ३० गते बागमती प्रदेशमा, असार २ गते कोशी प्रदेशमा, असार ४ गते लुम्बिनी प्रदेशमा, असार ६ गते सुदूरपश्चिम प्रदेशमा, असार ८ गते कर्णाली प्रदेशमा, असार ११ गते गण्डकी प्रदेशमा,

असार १३ गते मधेश प्रदेशमा, असार १६ गते राजधानी काठमाडौंमा, असार १७ गते सम्पर्क समन्वयको, असार १८ गतेः जनसंगठनको, असार १९ गते विभाग प्रमुख तथा निकायका पदाधिकारीहरूसँग कार्यक्रम गर्नेछ ।

प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहने छ। कार्यक्रमको समन्वय सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्ने निर्णय गरिएको छ। त्यसैगरी, कार्यदलको सदस्य–सचिवको जिम्मेवारी शंकर पोखरेललाई दिने निर्णय बैठकले गरेको छ।

बैठकमा अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध, संगठित र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्तालाई जनतामाझ सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।