२६ जेठ, काठमाडौं । नेपालमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति बढेर ५.०४ प्रतिशत पुगेको छ, जसले गत वर्षको तुलनामा मूल्यवृद्धि झन्डै दोब्बर भएको देखाएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष वैशाखमा २.७७ प्रतिशत रहेको महँगी दर यस वर्ष सोही अवधिमा उल्लेख्य रूपमा बढेको हो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.२६ प्रतिशत पुगेको छ।
खाद्य समूहमा फलफूलको मूल्य सबैभन्दा धेरै १८.६० प्रतिशतले बढेको छ। त्यस्तै घिउ तथा तेल, तरकारी र माछामासुको मूल्य पनि बढेको देखिएको छ।
गैरखाद्यतर्फ यातायात भाडा १५.३० प्रतिशतले महँगिएको छ भने विविध वस्तु तथा सेवाको मूल्य झन्डै २० प्रतिशतसम्म बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
प्रदेशगत रूपमा कोशीमा सबैभन्दा बढी र बागमतीमा सबैभन्दा कम मुद्रास्फीति देखिएको छ। तराई क्षेत्रमा महँगी सबैभन्दा उच्च रहेको छ भने हिमाली क्षेत्रमा तुलनात्मक रूपमा कम देखिएको छ।
नेपालको मुद्रास्फीति दर भारतको ३.४८ प्रतिशतभन्दा बढी देखिएको छ, जसले क्षेत्रीय तुलनामा नेपालमा महँगी दबाब बढेको संकेत गर्छ।




